काठमाडौं । देशभर पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशमा वर्षाको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा तथा कोशी प्रदेशको तराई भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। केही क्षेत्रमा चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभाग, मधेस प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लागेको छ। अन्य भूभागमा भने आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
दिउँसो कस्तो रहला मौसम?
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्ने अनुमान गरिएको छ। मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
राति पनि वर्षाको सम्भावना
आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। मधेस प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यस्तै, कोशी प्रदेशको तराईका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।वर्षाको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्रै निस्कन तथा सम्भावित जोखिमप्रति सचेत रहनु उपयुक्त हुनेछ।