काठमाडौं ।अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लागू हुँदै आएको विद्यार्थी भिसा प्रणालीमा सुधार गर्ने विषयमा सार्वजनिक परामर्श सुरु गरेको छ।
अस्ट्रेलियाको गृह मामिला विभागले वास्तविक विद्यार्थी जेनुइन स्टुडेन्ट सम्बन्धी मापदण्ड र आर्थिक क्षमता प्रमाणित गर्ने प्रक्रियामा परिमार्जनका लागि सरोकारवालासँग सुझाव मागेको हो।प्रस्तावित सुधारमा विद्यार्थीको भिसा मूल्याङ्कन प्रक्रियालाई थप व्यवस्थित बनाउने विषय समेटिएको छ। अध्ययन सुरु गर्न लागेका र अध्ययन जारी राखेका विद्यार्थीका लागि छुट्टाछुट्टै मूल्याङ्कन गर्ने, हाल प्रयोग हुँदै आएको जेनुइन स्टुडेन्टसम्बन्धी ढाँचाबद्ध विवरणको सट्टा परिमार्जित प्रश्नावली लागू गर्ने तथा राम्रो शैक्षिक नतिजा भएका अन्तरदेशीय विद्यार्थीलाई सकारात्मक महत्त्व दिने प्रस्ताव गरिएको छ।
त्यस्तै, विद्यार्थीले आफ्नो अध्ययन खर्च धान्न सक्ने आर्थिक क्षमता प्रमाणित गर्न चारवटा सम्भावित नमुना प्रस्तुत गरिएको छ। पहिलो विकल्पमा पूर्ण पाठ्यक्रमको कुल खर्चको ५० प्रतिशत रकम अस्ट्रेलियाको बैंक खातामा व्यवस्थापन गर्नुपर्ने प्रस्ताव छ। दोस्रो विकल्पमा कुल खर्चको ५० प्रतिशत रकम कम्तीमा तीन महिनासम्म लचिलो रूपमा राख्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।तेस्रो विकल्पअनुसार पहिलो वर्षको सम्पूर्ण अध्ययन खर्च बराबरको रकम कम्तीमा तीन महिनासम्म खातामा रहेको प्रमाण देखाउनुपर्नेछ। चौथो विकल्पमा मान्यता प्राप्त शैक्षिक वित्तीय व्यवस्थालाई आर्थिक प्रमाणका रूपमा स्वीकार गर्ने विषय समेटिएको छ।
यसका साथै, प्रमाणसम्बन्धी जोखिमको तेस्रो तहमा रहेका देशका लागि सम्भावित अन्तरिम व्यवस्था पनि प्रस्ताव गरिएको छ। जसअनुसार भिसा आवेदन पेस गर्दा नै आर्थिक प्रमाण बुझाउनुपर्ने, कम्तीमा छ महिनाको बैंक कारोबार विवरण देखाउनुपर्ने र धितो नभएका तथा वितरण नगरिएका ऋणलाई सामान्यतया स्वीकार नगर्ने प्रस्ताव छ।यी सबै विषय हाल परामर्शका लागि प्रस्तुत गरिएका प्रस्ताव मात्रै हुन्। यसबारे अन्तिम निर्णय भइसकेको छैन। सुझाव पेस गर्ने समय सन् २०२६ नोभेम्बर २३ दिउँसो १२ बजे (अस्ट्रेलियन पूर्वी समय ) सम्म तोकिएको छ।