काठमाडाैँ । अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्य सरकारले सन् २०२६–२७ को दक्ष आप्रवासन कार्यक्रमअन्तर्गत दक्ष विदेशी कामदारलाई राज्यको सिफारिसमा बसोबासको अवसर प्रदान गर्ने भएको छ।
अस्थायी भिसामा दक्षिण अस्ट्रेलियामा बस्दै आफ्नो सीप र योग्यता अनुसारको पेसामा काम गरिरहेका आप्रवासी यस कार्यक्रमका लागि योग्य हुन सक्नेछन्। राज्य सरकारले यस वर्ष निर्माण, इन्जिनियरिङ, उत्पादन, सीपमूलक तथा प्राविधिक काम, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ। यी क्षेत्रमा आवश्यक सीप र कार्यअनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकताका साथ छनोट गरिने जनाइएको छ। यद्यपि प्राथमिकतामा नपरेका अन्य क्षेत्रका उच्च अङ्क प्राप्त उम्मेदवारलाई समेत अवसर दिन सकिने व्यवस्था गरिएको छ।
प्राथमिकताप्राप्त क्षेत्रमा कार्यरत र स्थायी बसोबासका लागि योग्य पेसा भएका उम्मेदवारलाई सबक्लास १९० अन्तर्गत राज्यको सिफारिसका लागि आवेदन दिन निमन्त्रणा पठाउन सकिनेछ। त्यस्तै, प्राथमिकताबाहिरका क्षेत्रमा कार्यरत वा उक्त भिसाका लागि योग्य नभएका पेसाका उम्मेदवारलाई सबक्लास ४९१ अन्तर्गत क्षेत्रीय बसोबास तथा रोजगारीको अवसरका लागि सिफारिस गर्न सकिनेछ।कार्यक्रममा सहभागी हुन इच्छुक उम्मेदवारले अस्ट्रेलियाको गृह मामिला विभागको दक्ष आप्रवासन प्रणालीमा सक्रिय रुचि अभिव्यक्ति दर्ता गरेको हुनुपर्नेछ। साथै, पहिलो प्राथमिकताको राज्यका रूपमा दक्षिण अस्ट्रेलियालाई छनोट गरेको हुनुपर्ने व्यवस्था छ। आवेदकको पेसा दक्षिण अस्ट्रेलियाको दक्ष पेसा सूचीमा समावेश भएको हुनुपर्ने र उनीहरू हाल सोही राज्यमा बसोबास तथा काम गरिरहेको हुनुपर्नेछ।
त्यसैगरी, राज्यबाट सिफारिस प्राप्त हुने समयमा आवेदकको उमेर ४५ वर्षभन्दा कम हुनुपर्ने, सम्बन्धित पेसाको सीप परीक्षणमा सकारात्मक नतिजा आएको हुनुपर्ने र कम्तीमा आधारभूत व्यावसायिक अङ्ग्रेजी दक्षता प्रमाणित गर्नुपर्नेछ। अङ्ग्रेजी दक्षता स्वीकृत भाषा परीक्षाको नतिजामार्फत प्रमाणित गर्न सकिनेछ। साथै, राज्यको सिफारिसबाट प्राप्त हुने अङ्कसमेत जोड्दा कुल ६५ अङ्क वा सोभन्दा बढी प्राप्त गरेको हुनुपर्नेछ। आवेदकले दक्षिण अस्ट्रेलियामा लगातार कम्तीमा १२ महिना बसोबास गरेको हुनुपर्नेछ। यस अवधिमा सातामा कम्तीमा ३० घण्टा काम गर्ने गरी पूर्णकालीन रोजगारीमा रहेको र हाल पनि सोही प्रकृतिको काम गरिरहेको हुनुपर्नेछ। उनीहरूले रोजेको पेसा र गरिरहेको कामबीच सीप तथा कार्यस्तरको समानता हुनुपर्ने सर्तसमेत राखिएको छ।
निर्धारित मापदण्ड पूरा गर्ने उम्मेदवारले दक्षिण अस्ट्रेलियाको दक्ष आप्रवासन तथा व्यवसायसम्बन्धी अनलाइन प्रणालीमार्फत आफ्नो रुचि दर्ता गराउन सक्नेछन्। त्यसपछि राज्य सरकारले योग्य उम्मेदवार छनोट गरी राज्यको सिफारिसका लागि आवेदन दिन निमन्त्रणा पठाउनेछ। यस कार्यक्रमले दक्षिण अस्ट्रेलियामा आवश्यक जनशक्तिको अभाव पूर्ति गर्नुका साथै दक्ष विदेशी कामदारलाई आफ्नो सीप र अनुभवका आधारमा बसोबासको अवसर प्राप्त गर्ने बाटो खुला गर्ने अपेक्षा गरिएको छ।