काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका गोकर्ण डाँगीविरुद्ध संसदीय सुनुवाइ समितिमा जग्गा विवादसम्बन्धी उजुरी परेको छ ।
उजुरीकर्ता टंकराज न्यौपानेले आफ्नो जग्गा गैरकानुनी रूपमा हडपिएको आरोप लगाउँदै डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न नहुने बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिमा आफ्नो धारणा राख्दै न्यौपानेले साधारण निवेदनका आधारमा आफ्ना आफन्तहरूको नामसमेत समावेश गरेर जग्गा अधिग्रहण गरिएको आरोप लगाए । अधिग्रहण गरिएको भनिएको जग्गा नगर विकास समितिलाई हस्तान्तरण नगरी आफूहरूलाई समेत फिर्ता नदिइएको र बिक्री गरिएको उनको दाबी छ ।
जग्गा विवादमा आफूले विभिन्न अदालतबाट न्याय नपाएको गुनासो गर्दै उनले सुरुमा कपिलवस्तु जिल्ला अदालतले आफ्नो दाबी नपुग्ने फैसला गरेको र त्यसलाई उच्च अदालत तुलसीपुरले पनि सदर गरेको जानकारी दिए । उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको उनले समितिलाई बताए ।
त्यस्तै, प्रस्तावित न्यायाधीश डाँगीका परिवारबाट आफूलाई धम्की आएको आरोपसमेत न्यौपानेले लगाएका छन् । विवाद मिलाउन खोज्दा डाँगीका दाजु दिनेश डाँगीले ‘मेरो भाइ सर्वोच्च अदालतमा गइसकेको छ, अब तँलाई जेल हाल्छु’ भन्दै धम्क्याएको उनको भनाइ छ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित व्यक्तिहरूविरुद्ध परेका उजुरीमाथि छलफल गर्ने क्रममा न्यौपानेलाई बोलाएर आरोप र गुनासोबारे जानकारी लिएको हो ।