काठमाडौं । विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका सहरहरूको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। वायु प्रदूषणसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको संस्था आईक्यूएयरका अनुसार बिहीबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको हो।
आईक्यूएयरले बिहान ८ः४५ देखि ९ः४५ बजेसम्म सार्वजनिक गरेको प्रत्यक्ष तथ्यांकमा काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा देखिएको छ। उक्त सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ। लाहोरको वायु गुणस्तर सूचकांक ३२५ पुगेको छ भने दोस्रो स्थानमा रहेको बंगलादेशको राजधानी ढाकाको एक्यूआई २५६ रहेको छ। त्यस्तै, भारतको राजधानी दिल्ली १८२ एक्यूआईसहित चौथो स्थानमा रहेको छ। पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ एक्यूआईसहित छैटौँ स्थानमा परेका छन्।
आईक्यूएयरको तथ्यांकले काठमाडौंको वायु प्रदूषणको अवस्था चिन्ताजनक बन्दै गएको संकेत गरेको छ। प्रदूषणको यस्तो स्तरले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दमलगायत श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। वायु प्रदूषण बढ्दै जाँदा सर्वसाधारणले समेत स्वास्थ्यमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।