काठमाडाैँ। अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्ल्यू) राज्यका पूर्व सांसद ड्यारिल म्याग्वायरलाई चिनियाँ नागरिकहरूको भिसा प्रक्रियामा नक्कली रोजगारी प्रायोजनको व्यवस्था मिलाउने षड्यन्त्रमा संलग्न रहेको ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ।
एनएसडब्ल्यू जिल्ला अदालतले गत नोभेम्बर २० मा म्याग्वायरलाई उक्त सजाय सुनाएको हो। फैसलाअनुसार उनले कम्तीमा एक वर्ष जेलमा बिताउनुपर्नेछ। अदालतमा पेस भएका प्रमाणअनुसार सन् २०१३ देखि २०१५ सम्म सांसद पदमा रहँदा उनले चीनका १० जना नागरिकलाई भिसा दिलाउन झुटो रोजगारी विवरण तयार पार्ने योजनामा सहयोग गरेका थिए। सुनुवाइका क्रममा म्याग्वायरले एनएसडब्ल्यूको रिभरिना क्षेत्रका विभिन्न व्यवसायीसँग समन्वय गरी चिनियाँ नागरिकलाई रोजगारी दिने प्रायोजन मिलाउन भूमिका खेलेको खुलेको थियो। ती व्यवसायले वास्तविक रूपमा काममा नराखे पनि भिसा प्रयोजनका लागि उनीहरूलाई आफ्ना कर्मचारीका रूपमा देखाउने व्यवस्था गरिएको थियो। त्यसबापत व्यवसायीहरूलाई नगद रकमसमेत उपलब्ध गराइएको प्रमाण अदालतमा पेस भएको थियो।
न्यायाधीश इयान बोर्कले उक्त योजनाको तयारीदेखि कार्यान्वयनसम्म म्याग्वायरको महत्त्वपूर्ण भूमिका रहेको निष्कर्ष निकालेका छन्। म्याग्वायरले सन् १९९९ देखि २०१८ सम्म करिब दुई दशक वागा वागा क्षेत्रबाट एनएसडब्ल्यू संसदमा प्रतिनिधित्व गरेका थिए। लिबरल पार्टीका सांसद रहेका उनी सरकार र प्रतिपक्ष दुवै अवस्थामा संसदीय सचेतकको जिम्मेवारीमा समेत थिए। उनी यसअघि एनएसडब्ल्यूकी पूर्व मुख्यमन्त्री ग्लेडिस बेरेजिक्लियनसँगको व्यक्तिगत सम्बन्धका कारण पनि चर्चामा आएका थिए। तर, अहिलेको भिसा प्रकरणमा बेरेजिक्लियनको संलग्नता रहेको आरोप भने लागेको छैन। म्याग्वायरका कानुनी प्रतिनिधिले अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने संकेत गरेका छन्। पुनरावेदनको प्रक्रिया अघि बढिरहँदा जेलबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने उनको जमानत निवेदन पनि अदालतले अस्वीकार गरेको छ। अदालतको फैसला सुनाइएपछि म्याग्वायरलाई तत्कालै हिरासतमा लिइएको छ।