काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको समापन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र देशको सीमा तथा भूमिको रक्षाका लागि एमाले बलियो शक्ति बन्नुपर्ने बताए। उनले पार्टीलाई निर्णायक स्थानमा पुर्याउने संकल्पका साथ निर्वाचनमा केन्द्रित हुन पार्टी पङ्क्तिलाई आग्रह गरे। ओलीले निर्वाचनअघि भएका ध्वंसात्मक गतिविधि र आक्रमणका कारण एमाले प्रतिरक्षात्मक अवस्थामा पुगेको उल्लेख गरे। प्राविधिक विषयलाई मात्र आधार बनाएर पार्टीकै आन्तरिक कमजोरीका कारण एमाले नेतृत्वको सरकार विस्थापित भएको निष्कर्ष निकाल्न नहुने उनको भनाइ थियो। समाजमा फैलिएका भ्रम चिर्ने र नागरिकलाई सही तथ्य बुझाउने अभियानको नेतृत्व एमालेले गर्ने उनले बताए।
उनले आगजनी, तोडफोड, हिंसा, आतङ्क र लुटपाटमा संलग्न तथा त्यस्ता गतिविधिलाई समर्थन गर्ने शक्तिहरूलाई राजनीतिक प्रतिद्वन्द्वीका रूपमा चित्रण गरे। यस्ता शक्तिलाई परास्त गर्न आवश्यक परे अन्य राजनीतिक शक्तिसँग सहकार्य गर्न सकिने धारणा पनि उनले राखे। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने उल्लेख गर्दै ओलीले निर्धारित समयभन्दा दुई–तीन महिना अगाडि नै निर्वाचन गराउने प्रस्ताव उपयुक्त नहुने बताए। यस विषयमा निर्वाचन आयोगसमक्ष पार्टीले आफ्नो स्पष्ट धारणा राख्ने उनको भनाइ थियो।
पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस भइरहे पनि पद प्राप्त गरेपछि तल्लो जिम्मेवारीमा रहेर काम गर्न तयार नहुने प्रवृत्ति देखिएको ओलीले टिप्पणी गरे। जिम्मेवारी सम्हालेर काम गर्न नसक्ने अवस्थामा पद छाडेर नयाँलाई अवसर दिनुपर्ने र कार्यसम्पादनका आधारमा नेतृत्वको मूल्याङ्कन हुनुपर्ने उनले बताए। त्यस्तै, अघिल्लो केन्द्रीय कमिटी बैठकलाई अनुशासनका विषयमा ‘कटअफ’ बिन्दुका रूपमा लिँदै ओलीले त्यसअघिका केही गतिविधि र सामाजिक सञ्जालमा व्यक्त विचारका विषयमा क्षमा दिइएको स्पष्ट पारे। तर अबका दिनमा पार्टी अनुशासन उल्लङ्घन गर्ने गतिविधि भए कारबाही गरिने उनले चेतावनी दिए।