काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) का रूपमा कार्यरत प्रहरी हवल्दारको गोली लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डीआईजी गोविन्द थपलियाका अनुसार बिहीबार साँझ काठमाडौंको टोखास्थित आफ्नै बसोबास क्षेत्रमा ढकालले आफैंलाई गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका ढकाललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनले न्यायाधीशको सुरक्षाका लागि आफूसँग राख्दै आएको सरकारी पेस्तोल प्रयोग गरी आफैंमाथि गोली चलाएका थिए। घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।