काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजबाट शतक प्रहार गर्ने पहिलो खेलाडीले अस्ट्रेलिया भ्रमणको विशेष अवसर पाउने भएका छन्।
काठमाडौं गोर्खाजको प्रायोजक क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजले टोलीका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो पुरस्कार घोषणा गरेको हो। कम्पनीका अनुसार गोर्खाजबाट प्रतियोगितामा सबैभन्दा पहिले शतक प्रहार गर्ने खेलाडीलाई अस्ट्रेलियाको विशेष भ्रमण गराइनेछ। भ्रमणका क्रममा लाग्ने हवाई टिकट, होटलमा बसोबास तथा भिसासम्बन्धी सम्पूर्ण खर्चसमेत कम्पनीले नै व्यहोर्ने जनाएको छ। यस घोषणाअनुसार काठमाडौं गोर्खाजका खेलाडीमध्ये शतक बनाउने पहिलो खेलाडीले अस्ट्रेलिया भ्रमणको अवसर प्राप्त गर्नेछन्। कम्पनीको यो घोषणाले खेलाडीलाई व्यक्तिगत उपलब्धिसँगै टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।