काठमाडौं । भूमि समस्या समाधान समितिले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनामा १३५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहिलो त्रैमासिक प्रगति विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म उक्त सङ्ख्यामा लालपुर्जा वितरण गरिएको हो।वितरण गरिएका पुर्जामध्ये ११ वटा भूमिहीन दलित, ४१ वटा भूमिहीन सुकुम्बासी र ८३ वटा अव्यवस्थित बसोबासीका नाममा रहेका छन्।
समितिले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि लगत सङ्कलन, विवरण प्रमाणीकरण र जग्गाको नाप नक्सा गर्ने कामलाई अघि बढाएको जनाएको छ।प्रतिवेदनअनुसार यस अवधिमा समितिको सूचना प्रणालीमा कुल ५१ हजार ५१७ वटा निवेदन दर्ता भएका छन्। तीमध्ये ७ हजार ७० वटा भूमिहीन दलित, ८ हजार ८३ वटा भूमिहीन सुकुम्बासी र ३१ हजार ३१७ वटा अव्यवस्थित बसोबासीका निवेदन छन्। यसबाहेक विगतका आयोगका अधुरा कामसँग सम्बन्धित ५ हजार १२७ निवेदन पनि दर्ता भएका छन्।
जग्गा पहिचान तथा वितरण प्रक्रियालाई व्यवस्थित बनाउन समितिले तीन महिनाको अवधिमा देशका विभिन्न स्थानमा १ हजार ९४७ कित्ता जग्गाको नाप नक्सा सम्पन्न गरेको छ।यसैबीच, काठमाडौं उपत्यकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले समितिले भक्तपुर नगरपालिकासँग समझदारी गरेको छ। समझदारीअनुसार भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरण तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि वास्तविक लगत सङ्कलन गर्न सूचना पनि प्रकाशित गरिएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।