काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुईदिने भारत भ्रमणलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्।
पश्चिमा सञ्चारमाध्यमले भ्रमणलाई नयाँ राजनीतिक नेतृत्वको कूटनीतिक परीक्षा र दुई देशबीचको पुरानो अविश्वास हटाउने अवसरका रूपमा हेरेका छन् भने भारतीय सञ्चारमाध्यमले आर्थिक सहायता, पूर्वाधार, ऊर्जा र विकास साझेदारीलाई प्राथमिकता दिएका छन्। बालेनको भारत भ्रमणलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार तथा विश्लेषणमा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, जेनजी आन्दोलनपछि उदाएको नयाँ नेतृत्व, भारतसँगको ऐतिहासिक सम्बन्ध र चीनसँगको रणनीतिक सन्तुलनका विषयले पनि महत्त्व पाएका छन्।
नेपाल–भारत सम्बन्ध सुधारको अवसरका रूपमा बीबीसीको विश्लेषण
बीबीसीले प्रधानमन्त्री शाहको भ्रमणलाई नयाँ राजनीतिक नेतृत्व र पुरानो छिमेकी भारतबीच सम्बन्ध सुधारको परीक्षणका रूपमा प्रस्तुत गरेको छ। ‘नयाँ नेपाल र पुरानो छिमेकी’ भन्ने सन्दर्भमा गरिएको विश्लेषणमा शाहको राजनीतिक पृष्ठभूमि र जेनजी आन्दोलनपछि नेपालको बदलिएको राजनीतिक परिस्थितिलाई मुख्य आधार बनाइएको छ। ३६ वर्षीय शाह र्यापरबाट राजनीतिमा प्रवेश गरी प्रधानमन्त्री बनेको प्रसङ्ग उल्लेख गर्दै बीबीसीले उनको नेतृत्वमा नेपालले नयाँ राजनीतिक दिशा खोजिरहेको जनाएको छ। पुराना राजनीतिक दलहरूको प्रभाव कमजोर भएपछि उदाएको नयाँ शक्तिका लागि भारतसँगको सम्बन्धलाई पुनः व्यवस्थित गर्नु महत्त्वपूर्ण चुनौती रहेको विश्लेषणमा उल्लेख छ।
बीबीसीले नेपाल र भारतबीचको सम्बन्धलाई सरकारबीचको औपचारिक कूटनीतिमा मात्र सीमित नभई खुला सीमा, पारिवारिक सम्बन्ध, धार्मिक तथा सांस्कृतिक निकटता र दैनिक आवतजावतसँग जोडिएको सम्बन्धका रूपमा चित्रण गरेको छ। यद्यपि, निकट सम्बन्ध हुँदाहुँदै पनि व्यापार असन्तुलन, सीमा विवाद र नेपालको आन्तरिक राजनीतिमा भारतीय प्रभावबारे उठ्ने असन्तुष्टिले दुई देशबीच समय–समयमा अविश्वास सिर्जना गर्दै आएको विषयलाई पनि समाचारले समेटेको छ।
नेपालको पेट्रोलियम पदार्थ तथा खाद्यान्न आपूर्ति, अन्तर्राष्ट्रिय व्यापारका लागि भारतीय भूभागमाथिको निर्भरता र ऊर्जा व्यापारलाई द्विपक्षीय सम्बन्धका महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ। नेपालले जलविद्युत् उत्पादन बढाएर भारत र बंगलादेशमा विद्युत् निर्यात विस्तार गर्न सक्ने सम्भावनालाई समेत प्राथमिकता दिइएको छ। त्यस्तै, लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवाद, भैरहवा तथा पोखरा विमानस्थलका लागि थप हवाई प्रवेश मार्गको माग र चीनसँगको सम्बन्धलाई सन्तुलित बनाउने नेपालको प्रयासलाई पनि भ्रमणसँग जोडेर विश्लेषण गरिएको छ। शाहको भारत भ्रमणअघि नेपाली सांसदहरूको टोली चीन गएको प्रसङ्गलाई समेत बीबीसीले दुई शक्तिशाली छिमेकीबीच सन्तुलित कूटनीति अपनाउने नेपालको प्रयासका रूपमा व्याख्या गरेको छ। यसका अतिरिक्त शाहको नेतृत्व अनुभव, सरकारका निर्णयमाथि भइरहेका आलोचना, प्रेस स्वतन्त्रतासम्बन्धी विवाद र कूटनीतिक तयारीको विषयमा उठेका प्रश्नलाई पनि बीबीसीले आफ्नो विश्लेषणमा समेटेको छ।
आर्थिक सहयोग र पुनर्निर्माणमा रोयटर्सको चासो
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई मुख्यतः आर्थिक सहयोग, बाढीपछिको पुनर्निर्माण, व्यापार, ऊर्जा र पूर्वाधार विकाससँग जोडेर समाचार प्रकाशित गरेको छ।रोयटर्सका अनुसार भदौमा आएको विनाशकारी बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्याउनुका साथै सडक, पुल, विद्युत् आयोजना, कृषि क्षेत्र र निजी आवासमा व्यापक क्षति पुर्याएको थियो। यस्तो अवस्थामा भारतसँग पुनर्निर्माणका लागि सहयोग जुटाउनु शाह सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको समाचारमा उल्लेख छ। नेपालको प्रमुख व्यापारिक साझेदार तथा सहायता उपलब्ध गराउने मुलुकका रूपमा भारतसँगको सहकार्यलाई आर्थिक चुनौती समाधान गर्ने अवसरका रूपमा रोयटर्सले व्याख्या गरेको छ। त्यसैगरी, ऊर्जा सहकार्य, व्यापार विस्तार, पूर्वाधार निर्माण र नेपालमा भारत तथा चीनको प्रभावसम्बन्धी प्रतिस्पर्धालाई पनि समाचारमा स्थान दिइएको छ। भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान विस्तार गर्न भारतीय हवाई क्षेत्र हुँदै थप प्रवेश मार्ग उपलब्ध गराउनुपर्ने नेपालको मागलाई पनि रोयटर्सले महत्त्व दिएको छ। समग्रमा रोयटर्सको विश्लेषणमा शाहको राजनीतिक उदयभन्दा पनि उनको भारत भ्रमणबाट नेपालले प्राप्त गर्न सक्ने आर्थिक तथा विकाससम्बन्धी उपलब्धिमा बढी जोड देखिन्छ।
भारतीय सञ्चारमाध्यमको प्राथमिकता : आर्थिक सहायता र विकास परियोजना
भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री शाहको भ्रमणलाई दुई देशबीच आर्थिक तथा विकास साझेदारी विस्तार गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्। भ्रमणको समयतालिका, सम्भावित आर्थिक सहायता, पूर्वाधार परियोजना, ऊर्जा व्यापार, हवाई सम्पर्क र उच्चस्तरीय भेटवार्तालाई उनीहरूले प्रमुख विषय बनाएका छन्। टाइम्स अफ इन्डिया**ले शाहको भारत भ्रमण तीन दिनबाट घटाएर करिब २५ घण्टामा सीमित गरिएको विषयलाई विशेष प्राथमिकता दिएको छ। समाचारमा नेपालले बाढीपछिको पुनर्निर्माण र पूर्वाधार विकासका लागि भारतसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण माग्न सक्ने उल्लेख छ। नेपालले एक अर्ब डलर सहुलियतपूर्ण ऋण, पाँच सय मिलियन डलर अनुदान र थप पाँच सय मिलियन डलर पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रस्ताव गरेको विवरण पनि समाचारमा समेटिएको छ।
यसका साथै भैरहवा र पोखरा विमानस्थलका लागि थप हवाई प्रवेश मार्ग, पञ्चेश्वर जलविद्युत् परियोजना तथा भारतीय सेनामा नेपाली गोर्खाको भर्तीसम्बन्धी अग्निपथ योजनालाई पनि सम्भावित छलफलका विषयका रूपमा उल्लेख गरिएको छ। यद्यपि, छोटो समयको भ्रमणबाट नेपाल–भारतबीचका सबै पुराना विवाद तत्काल समाधान हुने अपेक्षा गर्न नसकिने समाचारको आशय छ।
द इन्डियन एक्सप्रेसले भने भ्रमणको तयारी र नेपालले भारतसँग अघि बढाउन चाहेका विकास तथा सम्पर्क विस्तारका परियोजनालाई प्राथमिकता दिएको छ। नेपालले अयोध्या–जनकपुर रेल सेवा, थप हवाई प्रवेश मार्ग र अन्य कनेक्टिभिटी परियोजनालाई अगाडि बढाउन चाहेको विषयलाई समाचारमा प्रमुखताका साथ उठाइएको छ। शाहले औपचारिकताभन्दा परिणाममुखी भ्रमणमा जोड दिएको विषयलाई पनि सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
मोदीसँगको भेट र द्विपक्षीय सहकार्यमा भारतीय सञ्चारमाध्यमको जोड
हिन्दुस्तान टाइम्स र इन्डिया टुडेले शाहको पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमण, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट तथा राष्ट्रपति द्रौपदी मुर्मुसँगको शिष्टाचार भेटलाई प्राथमिकता दिएका छन्। यी सञ्चारमाध्यमले भ्रमणलाई नेपाल–भारत सम्बन्धको समीक्षा गर्दै ऊर्जा, व्यापार, लगानी, यातायात, पूर्वाधार र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्। दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक निकटतालाई उल्लेख गर्दै अब सम्बन्धलाई आर्थिक साझेदारी, ऊर्जा व्यापार र डिजिटल सहकार्यतर्फ अघि बढाउनुपर्ने विषयमा समेत जोड दिइएको छ।
त्यस्तै, इकोनोमिक टाइम्सले शाहको भ्रमणलाई भारतप्रति नेपालको नीतिगत दृष्टिकोणमा आउन सक्ने परिवर्तनसँग जोडेको छ। नयाँ राजनीतिक नेतृत्वले भारतसँगको सम्बन्धलाई कुन दिशामा अघि बढाउँछ र विगतका अविश्वास तथा राजनीतिक उतारचढावलाई कसरी व्यवस्थापन गर्छ भन्ने विषयलाई समाचारको मुख्य चासो बनाइएको छ।
डीडी न्युजले भने शाहको भ्रमणलाई नेपाल–भारत सम्बन्धमा पुनःविश्वास निर्माण गर्ने अवसरका रूपमा व्याख्या गरेको छ। जेनजी आन्दोलनपछि आएको राजनीतिक परिवर्तन, शाहको परम्परागत कूटनीतिक शैलीभन्दा फरक दृष्टिकोण र विगतमा देखिएका असहजताबीच उच्चस्तरीय भेटवार्ताको महत्त्वलाई समाचारमा जोड दिइएको छ। पुनर्निर्माण, हवाई सम्पर्क र ऊर्जा तथा व्यापारलाई भ्रमणका प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै सम्भावित संयुक्त दृष्टिपत्र, परियोजना उद्घाटन र नयाँ सहकार्यका विषयलाई समेत समेटिएको छ।
नयाँ नेतृत्वका लागि कूटनीतिक परीक्षा
समग्रमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको विश्लेषण हेर्दा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई केवल औपचारिक राजनीतिक भेटघाटका रूपमा मात्र हेरिएको छैन। यसलाई नेपालमा आएको राजनीतिक परिवर्तनपछि नयाँ नेतृत्वले छिमेकीसँगको सम्बन्धलाई कसरी अघि बढाउँछ भन्ने परीक्षणका रूपमा पनि लिइएको छ। पश्चिमा सञ्चारमाध्यमले ऐतिहासिक अविश्वास, भू–राजनीतिक प्रतिस्पर्धा र नयाँ नेतृत्वको कूटनीतिक क्षमतामा बढी चासो देखाएका छन्। भारतीय सञ्चारमाध्यमले भने आर्थिक सहायता, पूर्वाधार, ऊर्जा, व्यापार र दुई देशबीचको विकास साझेदारीलाई केन्द्रमा राखेका छन्। यसले बालेन सरकारका लागि भारतसँगको सम्बन्ध सुधार गर्नु मात्रै पर्याप्त नहुने, नेपालको राष्ट्रिय हित, आर्थिक आवश्यकता र चीनसँगको रणनीतिक सन्तुलनलाई समेत ध्यानमा राख्दै ठोस उपलब्धि हासिल गर्नु महत्त्वपूर्ण हुने देखाउँछ।