काठमाडाैँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई समेटेर सर्वदलीय सरकार गठन गर्ने बताएका छन्।
मुख्यमन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यादवले सबै दलको सहभागितामा सरकार सञ्चालन गर्ने आफ्नो चाहना रहेको बताएका हुन्। उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग यही भावनाअनुसार छलफल अघि बढाउने जानकारी दिए। आफ्नो नेतृत्वमा गठन हुने सरकारमा सबै दल सहभागी हुने विश्वाससमेत उनले व्यक्त गरे।
यस्तै, निर्धारित समयभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नेमा आफू विश्वस्त रहेको मुख्यमन्त्री यादवले बताए। यसअघि आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।