काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण र त्यसअनुसार अनुकूलनका उपाय अघि बढाउने उद्देश्यले मंसिर ७ गतेदेखि जलवायु कार्य सप्ताह आयोजना गर्ने भएको छ।
महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहबाटै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न विभिन्न क्षेत्रको सहभागितामा साताव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो। सात दिनसम्म चल्ने कार्यक्रममा प्रत्येक दिन फरक–फरक विषयमा छलफल तथा गतिविधि सञ्चालन गरिनेछ। नीतिगत तथा राजनीतिक संवाद, जलवायु वित्त, नागरिक विज्ञान र सम्पदा, ऊर्जा प्रणाली, फोहोरमैला व्यवस्थापन, बालबालिका तथा युवाको जलवायु अभियान र खाद्य प्रणालीलाई मुख्य विषय बनाइएको महानगरले जनाएको छ। अन्तिम दिन नागरिक समाजको भूमिका र जवाफदेहिताबारे छलफल गर्दै ‘काठमाडौं घोषणा २०८३’ सार्वजनिक गरिनेछ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जनप्रतिनिधि, युवा, विद्यार्थी, वैज्ञानिक, उद्यमी, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार तथा बैंक तथा वित्तीय संस्थालाई एउटै मञ्चमा जोडेर जलवायु अनुकूलनका कामलाई व्यवहारमा उतार्ने लक्ष्य रहेको बताइन्। उनले जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्ने समस्या रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि आवश्यक कार्ययोजना पनि जलवायु कार्य सप्ताहकै क्रममा सार्वजनिक गरिने जानकारी दिइन्। कार्य सप्ताहअन्तर्गत विद्यालयमा फोहोर वर्गीकरण, वृक्षरोपण र इको क्लबका गतिविधि सञ्चालन गरिनेछन्। त्यस्तै, कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी जलवायु परिवर्तनसम्बन्धी भिडियो प्रतियोगिता पनि आयोजना गरिने महानगरले जनाएको छ। महानगरले जलवायु परिवर्तनका असरबारे जनचेतना बढाउने मात्र नभई स्थानीयस्तरमै कार्यान्वयनयोग्य योजना अघि बढाउने अपेक्षा गरेको छ।