काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ बराबरको सेतो हेरोइन बरामद गरेको छ। लागुऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार थाइल्यान्डबाट काठमाडौँ ल्याइएको साढे ५ किलो सेतो हेरोइन बरामद भएको हो। यसको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ। पक्राउ पर्नेमा महाराष्ट्रका ५२ वर्षीय रेवराज टिघारे रहेका छन्। शनिबार बिहान शंकास्पद रूपमा चेकजाँच गर्दा उनको लगेजभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएर राखिएको अवस्थामा हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा टिघारे यसअघि पनि दुई पटक लाओसबाट काठमाडौँ हुँदै भारत गएको पाइएको छ। उनको यात्रा विवरणमा जिम्बाबे, सुडान, बंगलादेश र कम्बोडियालगायतका देश भ्रमण गरेको देखिएको प्रहरीले जनाएको छ। एसएसपी बोहराका अनुसार टिघारे लागुऔषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका टिघारेमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको छ। कानुनअनुसार लागुऔषध कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय तथा ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।