संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको भीषण सडक दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने ३० जना घाइते भएका छन्। अनियन्त्रित ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा एकैपटक २३ वटा गाडी दुर्घटनामा परेका हुन्।
यूएईको आन्तरिक मन्त्रालयले दिएको जानकारीअनुसार पूर्वी इमिरेट फुजैराहको प्रवेशद्वारनजिक बिहीबार मध्यरातअघि दुर्घटना भएको थियो। सडकमा सवारीसाधनको चाप रहेका बेला एउटा ट्रक चालकको नियन्त्रणबाहिर गएर अगाडि रहेका गाडीहरूमा ठोक्किएको प्रारम्भिक विवरणमा उल्लेख छ।
दुर्घटनामा पाँच ट्रकसहित कुल २३ वटा सवारीसाधन क्षतिग्रस्त भएका छन्। ठक्करपछि ट्रक पल्टिएर आगो लाग्दा आगलागी अन्य गाडीमा समेत फैलिएको थियो। त्यसपछि घटनास्थलमा ठूलो क्षति भएको मन्त्रालयले जनाएको छ।
फुजैराह प्रहरीले घाइते ३० जनालाई उद्धार गरी अस्पताल पुर्याइएको जानकारी दिएको छ। उनीहरूमध्ये १५ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको उपचार जारी छ।
दुर्घटनामा ज्यान गुमाउनेहरूको सनाखत गर्न प्रहरीले डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ। मृतकमध्ये केही यूएईका नागरिक रहेको पनि पुष्टि भएको छ।
यसैबीच, यूएईस्थित भारतीय वाणिज्य दूतावासले दुर्घटनामा भारतीय नागरिकको समेत मृत्यु भएको जनाएको छ। मृतकका परिवारसँग सम्पर्क गरी स्थानीय अधिकारीहरूसँगको समन्वयमा आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको दूतावासले जनाएको छ।
अधिकारीहरूका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक छन्।
दुर्घटनालगत्तै प्रहरी, एम्बुलेन्स र नागरिक सुरक्षा टोली परिचालन गरिएको थियो। उनीहरूले आगो नियन्त्रणमा लिनुका साथै घाइतेहरूको उद्धार गरेका थिए।
अहिले घटनास्थल सुरक्षित बनाउने र दुर्घटनाको कारण पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन्।