काठमाडौँ। दैलेखमा बिरामी लिएर उपचारका लागि सुर्खेत जाँदै गरेको बलेरो गाडी दुर्घटनामा पर्दा ६ जना घाइते भएका छन् ।
सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा बलेरो गाडी सडकबाट करिब २०० मिटर तल खसेको हो । कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको उक्त गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालिकोटबाट बिरामीलाई अक्सिजनसहित उपचारका लागि सुर्खेत लैजाने क्रममा दुर्घटना भएको हो । गाडी कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी २२ वर्षीय योगेश सिंखडाले चलाएका थिए ।
दुर्घटनामा चालक सिंखडासहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा १८ वर्षीय गंग शार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल सार्की, ४१ वर्षीय रने शार्की र २७ वर्षीया कैसी सार्की रहेका छन् । कैसी बिरामी रहेको बताइएको छ । दुर्घटनामा चालक सिंखडाको शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरू पनि चोटपटक लागेर घाइते भएका छन् । घाइते सबैलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।