काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विकास निर्माणलाई तीव्रता दिँदै नागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।
बिहीबार नेपाल जियोलोजिकल कंग्रेसको उद्घाटन गर्दै सभामुख अर्यालले प्राकृतिक विपद्को जोखिम न्यूनीकरण र दिगो विकासका लागि भू–विज्ञानको भूमिका महत्वपूर्ण रहेको बताए। उनले विकासका योजना अघि बढाउँदा प्राकृतिक जोखिमलाई बेवास्ता गर्न नहुने धारणा राखे। प्राकृतिक प्रकोपलाई पूर्ण रूपमा रोक्न सम्भव नभए पनि वैज्ञानिक अध्ययन, पूर्वतयारी, जोखिमको पहिचान र प्रभावकारी नीतिगत व्यवस्थामार्फत त्यसबाट हुने क्षति घटाउन सकिने उनले बताए। सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भूगर्भीय अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
नेपालको संविधानले स्वच्छ वातावरणको हक र प्राकृतिक स्रोतको दिगो उपयोगलाई सुनिश्चित गरेको स्मरण गराउँदै उनले संवैधानिक व्यवस्थालाई व्यवहारमा उतार्न वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीति निर्माण आवश्यक रहेको बताए। उनले विपद् आइसकेपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुनेभन्दा जोखिम आउनुअघि नै पहिचान र न्यूनीकरण गर्ने प्रणाली विकास गर्नुपर्ने बताए। साथै प्राकृतिक स्रोतको वैज्ञानिक तथा दिगो उपयोगसँगै युवा वैज्ञानिकहरूको अनुसन्धान र प्राविधिक क्षमता अभिवृद्धिमा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। भौगर्भिक तथा जलवायुजन्य परिवर्तनले नेपाल मात्रै नभई समग्र दक्षिण एसिया र विश्वमै प्रभाव पार्न सक्ने भन्दै उनले जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य, वैज्ञानिक तथ्याङ्कको आदानप्रदान, संयुक्त अनुसन्धान र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने बताए।