काठमाडौं ।साउदी अरेबियाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ।
दूतावासले पाँच बुँदे सूचना जारी गर्दै सुरक्षा निकायका निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट जोगिन अपिल गरेको हो।दूतावासका अनुसार साउदी अरेबियाका आधिकारिक निकायबाट जारी हुने सुरक्षा सूचना र निर्देशनलाई गम्भीरतापूर्वक लिनुपर्नेछ। सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन पनि नेपाली नागरिकलाई सुझाव दिइएको छ।त्यसैगरी, सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन दूतावासले सचेत गराएको छ। आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचार, सूचना, तस्बिर तथा भिडियो अरूलाई पठाउन वा फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा सार्वजनिक गर्न नहुने सूचनामा उल्लेख छ।
हवाई यात्रा गर्ने तयारीमा रहेका नेपाली नागरिकलाई पनि आफ्नो उडानको अवस्थाबारे जानकारी लिएर मात्र विमानस्थल जान आग्रह गरिएको छ। नेपाल वा अन्य मुलुकका लागि प्रस्थान गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक माध्यमबाट उडानको समय परिवर्तन भए–नभएको पुष्टि गर्न दूतावासले सुझाव दिएको छ।सुरक्षासम्बन्धी समस्या वा अन्य आपत्कालीन अवस्था सिर्जना भएमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सकिने जनाइएको छ। दूतावासले साउदी अरेबियामा रहेका नेपाली नागरिकलाई आधिकारिक सूचनामा ध्यान दिन र सतर्क रहन आग्रह गरेको छ।
