काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।
रुस भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजनालगायतका कामलाई वर्तमान सरकारले निष्कर्षमा पुर्याउनुपर्ने बताएका हुन्। उनले नेपाल, भारत र बंगलादेशबीचको विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता तथा कृषि विकाससँग जोडिएका सहमति र समझदारीलाई पनि कार्यान्वयनको चरणमा लैजानुपर्ने बताए।
प्रधानमन्त्रीको कार्यशैली र भारत भ्रमणको तयारीबारे केही विषय स्पष्ट हुन बाँकी रहेको उल्लेख गर्दै प्रचण्डले सरकारले गर्ने राम्रा काममा आफ्नो समर्थन र सहयोग रहने तथा गलत काम भए त्यसको आलोचना गर्ने धारणा राखे। रुसमा आयोजित सम्मेलनमा सहभागी भएर फर्किएका उनले त्यहाँ विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध र तनाव, ब्रिक्स, बहुध्रुवीय विश्व व्यवस्था तथा प्यालेस्टाइन र युक्रेनको अवस्थाबारे पार्टी र नेपालको धारणा प्रस्तुत गरिएको जानकारी दिए।