काठमाडाैँ । जेन–जी पर्साले तिहार, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवार, घाइते तथा विभिन्न रूपमा पीडित बनेका व्यक्तिहरूप्रति सम्मान प्रकट गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।
जेन–जी पर्साका संयोजक विशेष साह तथा युवा नेता भेष चौरसियाको नेतृत्वमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा जेन–जी सहिद परिवार कल्याणकारी संस्थाका अध्यक्ष नारायण श्रेष्ठ प्रमुख अतिथि, संस्थाका कोषाध्यक्ष गणेश चौलागाईं विशिष्ट अतिथि तथा जेन–जी आन्दोलनका घाइते सञ्जीव सापकोटा विशेष अतिथिका रूपमा सहभागी थिए। त्यस्तै, अधिवक्ता अनिल साह, युवा नेता सुकेश पटेललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवारप्रति सम्मान र सहानुभूति व्यक्त गरिएको थियो। साथै, आन्दोलनका क्रममा घाइते भएका तथा विभिन्न रूपमा प्रभावित बनेका जेन–जी युवाहरूको साहस, त्याग र योगदानको कदर गर्दै सम्मान प्रकट गरिएको थियो। पर्वलाई केवल शुभकामना आदानप्रदानमा सीमित नराखी आन्दोलनबाट प्रभावित बनेका व्यक्तिहरूको पीडा, संघर्ष र योगदानलाई स्मरण गर्ने अवसरका रूपमा समेत कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले पीडित परिवार, घाइते तथा युवाहरूबीच आपसी सद्भाव, एकता र सामाजिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमको अन्त्यमा जेन–जी पर्सा परिवारले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै तिहार, दीपावली र छठ पर्वको अवसरमा सबैको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको थियो।