काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ।
नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतविरुद्ध निकै निराशाजनक प्रदर्शन गरेको थियो। उक्त खेलमा नेपाली टोली २६ रनमै समेटिँदै पराजित भएको थियो। यता यूएई पनि आफ्नो पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग हारेको थियो। आजको खेल नेपाली क्रिकेटका लागि अर्को कारणले पनि विशेष छ। यूएईसँगको यो प्रतिस्पर्धा नेपालको १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हो।
नेपालले अहिलेसम्म खेलेका ९९ ओडीआईमध्ये ४९ खेलमा जित, ४७ खेलमा हार बेहोरेको छ। एक खेल बराबरीमा सकिँदा दुई खेलको नतिजा आएको छैन। नेपाल र यूएईबीच हालसम्म २० ओडीआई खेल भएका छन्। जसमा नेपालले १२ खेल जितेको छ भने ८ खेलमा पराजय भोगेको छ। यूएईविरुद्ध नै नेपालले सबैभन्दा बढी ओडीआई खेल खेलेको हो। यी दुई टोलीबीच पछिल्लो पटक एसीसी प्रिमियर कपको फाइनलमा भेट भएको थियो। उक्त खेलमा यूएईलाई हराउँदै नेपालले उपाधि जित्नुका साथै एसिया कपमा स्थान सुरक्षित गरेको थियो। आजको खेलमा यूएईलाई पराजित गर्न सके नेपालले आफ्नो १००औँ ओडीआईलाई ५०औँ जितको ऐतिहासिक उपलब्धिसँगै स्मरणीय बनाउन सक्नेछ।