काठमाडाैँ । मनाङको नार्पाभूमी गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा पहिरो गएपछि आरोहणमा गएका १० जना सम्पर्कविहीन भएको सूचना आएपछि खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार सम्पर्कविहीन भएकाहरूको खोजीका लागि प्रभु हेलिकप्टरमार्फत चार जना उद्धारकर्मी घटनास्थलतर्फ पठाइएको छ। थप तीन जना उद्धारकर्मीलाई कैलाश हेलिकप्टरमार्फत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेक्टर विनोद बोहराका अनुसार पहिरो गएको क्षेत्रमा १० जना सम्पर्कविहीन भएको सूचना आएपछि तत्काल खोजी अभियान अघि बढाइएको हो।
यद्यपि, उनीहरूको अवस्थाबारे अहिलेसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हिम्लुङ हिमाल आरोहणका लागि गएका सम्पर्कविहीन सबै नेपाली नागरिक रहेको प्रारम्भिक जानकारी छ। पहिरो गएको क्षेत्रमा उद्धार टोली पुगेपछि मात्र सम्पर्कविहीनहरूको वास्तविक अवस्था र घटनाको विस्तृत विवरण खुल्ने बताइएको छ।