काठमाडौं । देशभर अहिले पनि मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले विभिन्न प्रदेशमा वर्षाको सम्भावना देखिएको छ।
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णालीको हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशको पहाडी तथा तराई क्षेत्र, बागमती प्रदेशको तराई भूभाग र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
हाल मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिक बदली देखिएको छ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तराईतर्फ मधेस र कोशीका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा राति चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।