काठमाडौं ।नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप नबिल एसएसई अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सका नयाँ समूहका लागि आवेदन खुलाएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको फेलोसिपको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि भदौ तीस गतेदेखि आवेदन लिन थालेको हो। इच्छुकले असोज छब्बीस गते अर्थात् अक्टोबर बाह्र, दुई हजार छब्बीस सम्म आवेदन दिन सक्नेछन्।कार्यक्रममा सहभागी हुन अठार वर्ष उमेर पूरा भएका नेपाली नागरिक योग्य हुनेछन्। विशेषगरी नयाँ तथा सिर्जनात्मक उद्यमशील सोच भएका व्यक्ति, महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका लागि रोजगारी र दिगो उद्यम सिर्जना गर्न चाहनेलाई आवेदन दिन बैंकले प्रोत्साहन गरेको छ। छनोट भएका सहभागीले कम्तीमा नब्बे प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले एसएसईमार्फत उद्यमीको व्यक्तिगत क्षमता विकाससँगै समुदायमा दिगो आर्थिक अवसर सिर्जना गर्ने उद्देश्यले काम भइरहेको बताए। उनका अनुसार कार्यक्रमले उद्यमीलाई आवश्यक ज्ञान, सीप, नेटवर्क तथा उद्यमशील वातावरणसँग जोड्न सहयोग गर्नेछ।बैंकका अनुसार नबिल एसएसईका विभिन्न कार्यक्रमबाट हालसम्म एक हजार पाँच सय असी जना प्रशिक्षित भइसकेका छन्। तालिम प्राप्त सहभागीबाट तीन सय अठार वटा उद्यम स्थापना भएका छन् भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा उन्नाइस हजार तीन सय तीन जनाका लागि रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकको दाबी छ।
फेलोसिपका हालसम्म सम्पन्न छ वटा समूहबाट एक सय तेह्र जना प्रशिक्षित भएका छन्। उनीहरूमध्येबाट त्रियानब्बे वटा उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ। त्यस्तै, सर्टिफिकेट कोर्सबाट एक हजार चार सय सतसट्ठी जना लाभान्वित भएका छन् भने दुई सय पच्चीस वटा उद्यम स्थापना भएको बताइएको छ।दुई हजार एक्काइस मा स्थापना भएको नबिल एसएसईले आकांक्षी तथा विद्यमान उद्यमीलाई व्यवसाय सञ्चालन र विस्तारका लागि आवश्यक ज्ञान, सीप, स्रोत, नेटवर्क तथा वित्तीय पहुँचका अवसर उपलब्ध गराउँदै आएको बैंकको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने फेलोसिप कार्यक्रम छ महिनाको रहेको छ। यसले उद्यमीलाई आफ्नो व्यवसाय विकास, सुदृढीकरण तथा विस्तारका लागि आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ।यस्तै, सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो। विद्यार्थी, नयाँ उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म र साना उद्यमीलाई लक्षित गरिएको यस कार्यक्रममा व्यावसायिक अवसर पहिचान, व्यवसायिक अवधारणा परीक्षण, व्यवसाय मोडल निर्माण तथा उद्यम सुदृढीकरणसम्बन्धी विषय समेटिने बैंकले जनाएको छ।यस वर्ष सर्टिफिकेट कोर्स देशका विभिन्न प्रदेशमा रहेका दस शैक्षिक साझेदार संस्थामार्फत सञ्चालन गरिनेछ। आवेदन तथा कार्यक्रमसम्बन्धी विस्तृत जानकारी नबिल बैंक र नबिल एसएसईका आधिकारिक माध्यम तथा सम्बन्धित शैक्षिक साझेदार संस्थाबाट लिन सकिने बैंकले जनाएको छ।