काठमाडौं ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन अर्थ समितिले सर्वसम्मत रूपमा पारित गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकले विधेयकबारे तयार पारिएको प्रतिवेदनमाथि छलफल गर्दै सर्वसम्मतिले पारित गरेको हो।बैठकमा समितिका सभापति डा। कृष्णहरि बुढाथोकीले सदस्यहरूबाट प्राप्त सुझाव र धारणाका आधारमा विधेयकमाथि दफावार छलफल गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए। उनले प्रतिवेदनमा समितिका निर्णयबाहेक अन्य विषय समावेश भए–नभएको समेत जाँच गरिएको बताए।
सभापति बुढाथोकीका अनुसार राष्ट्र बैंक ऐन संशोधनको क्रममा मुलुकको आर्थिक विकाससँग जोडिएका संरचनागत विषयलाई प्राथमिकतामा राखिएको छ। विशेषगरी राष्ट्र बैंकको नेतृत्व चयनको प्रक्रिया र नेतृत्वको कार्यसम्पादनसँग सम्बन्धित विषयमा समितिमा महत्वपूर्ण छलफल भएको उनले बताए।उनले ऐन संशोधनपछि देशले आर्थिक रूपमा थप प्रगति गर्न सक्ने गरी आवश्यक संरचनागत सुधारतर्फ ध्यान दिनुपर्ने धारणा राखे।
विधेयकलाई सर्वसम्मत रूपमा अघि बढाउने विषयमा समितिका सदस्यहरू सकारात्मक रहेको उल्लेख गर्दै सभापति बुढाथोकीले प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए।समितिका सदस्यहरूले आवश्यक ठानेका थप सुझाव वा धारणा अर्थ समिति सचिवालयमा लिखित रूपमा दर्ता गराउन सक्ने व्यवस्था रहेको पनि बैठकमा जानकारी गराइएको थियो।