काठमाडौं ।नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विकास र विस्तारका लागि आगामी पाँच वर्षलाई लक्षित गर्दै फिनटेक रणनीतिको खाका सार्वजनिक गरेको छ।
भुक्तानी प्रणाली विभागले डिजिटल वित्तीय प्रणालीलाई थप आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले रणनीति अघि सारेको हो।केन्द्रीय बैंकका अनुसार रणनीतिको दीर्घकालीन लक्ष्य वित्तीय सेवामा सबैको पहुँच विस्तार गर्नु, वित्तीय समावेशीकरण बढाउनु र डिजिटल प्रविधिमार्फत दिगो आर्थिक विकासमा योगदान पुर्याउनु हो।रणनीतिअन्तर्गत आवश्यक नीतिगत सुधार, प्रभावकारी नियमन तथा सुपरीवेक्षण, डिजिटल पूर्वाधारको विकास र सम्बन्धित निकायबीच सहकार्यलाई प्राथमिकता दिइएको छ। नयाँ प्रविधिको जिम्मेवार प्रयोगमार्फत डिजिटल वित्तीय सेवाको गुणस्तर सुधार गर्ने र सेवाको लागत घटाउने लक्ष्यसमेत राखिएको छ।
रणनीतिले डिजिटल वित्तीय सेवामा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने, सेवाका विकल्प बढाउने तथा वित्तीय प्रणालीमा आउन सक्ने जोखिम न्यूनीकरण गर्ने विषयलाई पनि समेटेको छ। फिनटेक क्षेत्रमा हुने नवप्रवर्तनलाई प्रोत्साहन गर्दै सुरक्षित र भरपर्दो सेवा विस्तार गर्ने राष्ट्र बैंकको योजना छ।रणनीतिक उद्देश्य कार्यान्वयनका लागि तीन प्रमुख क्षेत्रमा केन्द्रित हुने राष्ट्र बैंकले जनाएको छ। डिजिटल पूर्वाधारलाई आधुनिक बनाउने, नियमन तथा सुपरीवेक्षणमा प्रविधिको प्रयोग बढाउने, फिनटेकमैत्री कानुनी तथा नीतिगत व्यवस्था निर्माण गर्ने र साइबर सुरक्षालाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
यस रणनीतिले नयाँ तथा सञ्चालनमा रहेका फिनटेक कम्पनी, इजाजतप्राप्त वित्तीय संस्था र डिजिटल वित्तीय सेवा प्रयोगकर्तालाई समेट्नेछ। ग्रामीण क्षेत्रका नागरिक, साना तथा मझौला व्यवसाय, महिला, युवा, बालबालिका तथा गिग अर्थतन्त्रमा आबद्ध व्यक्तिलाई विशेष प्राथमिकता दिने उल्लेख गरिएको छ।पाँच वर्षे रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएपछि नेपालमा सुरक्षित, भरपर्दो, समावेशी र नवप्रवर्तनमा आधारित डिजिटल वित्तीय प्रणाली विकास हुने राष्ट्र बैंकको अपेक्षा छ।