काठमाडौं ।काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ तौलुडमा रहेको गरुड क्यासिनोबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरूलाई क्यासिनोभित्र तासमार्फत जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने गरिएको भन्ने सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले सोमबार दिउँसो त्यहाँ निगरानी तथा जाँच गरेको थियो।
जाँचका क्रममा नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराई क्वाइनमार्फत नगद साटेर हारजित हुने गरी तास खेलिरहेको अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ।प्रहरीले घटनास्थलबाट १० लाख ८५ हजार ६ सय रुपैयाँ नगदसहित ९ वटा मोबाइल बरामद गरेको छ। त्यस्तै ५० हजार रुपैयाँ अंकित ८ वटा, १० हजार रुपैयाँ अंकित १९ वटा, १ हजार रुपैयाँ अंकित ८८ वटा र १ सय रुपैयाँ अंकित ५ वटा क्वाइन पनि नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्ने बिकी लामा, नुवाड शेर्पा, पासाङ शेर्पा, ज्योती मगर, नारायण खत्री, दिल लामा, अशोक लामा, संजय तामाङ र सुदिप अधिकारी छन्। त्यस्तै ललितपुरका आषिश खड्का र सविनमान श्रेष्ठ पनि पक्राउ परेका छन्।प्रहरीका अनुसार उनीहरूमाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।