काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका नेपाली सेनाका मेजर अनिल बस्नेत पुर्पक्षका लागि कारागार चलान भएका छन्। अमेरिकी मूलकी नेपाली युवतीसँग सम्बन्धित घटनामा उनीमाथि बलात्कारको अभियोग लागेको हो।
प्रकाशित विवरणअनुसार, अमेरिकाबाट नेपाल फर्किएकी युवती र बस्नेत होटलमा सँगै बसेका थिए। उनीहरूबीच आपसी सहमतिमै होटलमा बसेको बताइए पनि भोलिपल्ट बिहान बस्नेत युवतीलाई छाडेर हिँडेपछि सम्पर्कविहीन भएको आरोप छ। त्यसपछि युवतीले असोज दोस्रो सातातिर दरबारमार्ग प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। उजुरीपछि प्रहरीले बस्नेतलाई सम्पर्क गरी प्रहरी कार्यालयमा बोलाएको समाचारमा उल्लेख छ।
सोलुखुम्बुका बस्नेत नेपाली सेनाको जंगी अड्डाभित्र सिग्नल बटालियनअन्तर्गत गणेशदल नजिकै रहेको क्यान्टिनमा कार्यरत रहेको जनाइएको छ। समाचारमा उल्लेख भएअनुसार, यसअघि पनि उनीमाथि महिला प्रशिक्षार्थीसँग दुर्व्यवहार गरेको आरोप लागेको थियो। केही वर्षअघि खरिपाटीमा क्याडेट तालिमका क्रममा महिला प्रशिक्षार्थीमाथि अवाञ्छित व्यवहार गरेको आरोपमा उनले जागिर गुमाएको र पछि पुनर्बहाली भएको दाबी गरिएको छ।