काठमाडौं । बिचौलिया इनम सापकोटासँग जोडिएका अडियो सार्वजनिक भएपछि त्यसबारे छानबिन गर्न विपक्षी दलहरूले संसदीय समितिको बैठक बोलाउन माग गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा यस विषयलाई लिएर छलफल गर्नुपर्ने विपक्षी दलहरूको माग छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समितिका सभापति हरि ढकाललाई पत्र लेख्दै बैठक तत्काल बोलाउन आग्रह गरेका छन्। शाहीले प्रहरी महानिरीक्षक र सरकारबीचको सम्बन्धमा देखिएको तिक्तता, पत्रकार पक्राउका घटना, राज्यशक्तिको दुरुपयोग तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा रहेका व्यक्तिको मोबाइल फोन जफत गरिएको विषयलाई समेत उठाएका छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पनि समितिको बैठक बोलाउन माग गर्दै पत्र पठाएका छन्। उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग सम्बन्धित भनिएको अडियो कसरी सार्वजनिक भयो र यस प्रकरणमा सरकारको भूमिका के छ भन्ने विषयमा स्पष्ट जवाफ माग्नुपर्ने बताएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई समितिमा बोलाएर सम्बन्धित घटनाबारे जवाफ लिनुपर्ने माग गरेका छन्। उनीहरूको जोड यस्ता घटनाको छानबिन गरी सरकारलाई जवाफदेही बनाउनुपर्नेमा छ।