काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरीले आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सुरक्षा व्यवस्था मजबुत बनाउने तथा अपराध नियन्त्रण गर्ने अभियानअन्तर्गत १ हजार १६२ जना फरार कसुरदारलाई पक्राउ गरेको छ।
अदालतबाट फैसला भई फरार रहेका उनीहरूबाट ३०२ वर्ष ४ महिना १८ दिन कैद तथा १५ करोड ७८ लाख ९८ हजार ७०७ रुपैयाँ जरिवाना असुल गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार साउन, भदौ र असोज महिनामा उपत्यकाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र कानुन कार्यान्वयनका लागि विभिन्न अभियान सञ्चालन गरिएका थिए। यस अवधिमा प्रहरीको उपस्थिति बढाउन २३ हजार २४३ पटक मोबाइल गस्ती, २० हजार ८८७ पटक पैदल गस्ती, ११ हजार ३४९ पटक मोटरसाइकल गस्ती तथा ६ हजार १७ पटक नियमित र आकस्मिक चेकिङ गरिएको थियो। यसै अवधिमा विभिन्न कारागार तथा थुनाबाट फरार रहेका थप ६७ जना कैदीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रणतर्फ प्रहरीले तीन महिनामा ४४४ वटा मुद्दा दर्ता गरी ३७८ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ७२ केजीभन्दा बढी गाँजा, १३ केजीभन्दा बढी पोल्याण्ड, ७६७ ग्रामभन्दा बढी खैरो हेरोइन तथा ट्रमाडोलसहित २ लाख ९५ हजार ६७६ एम्पुल तथा चक्की नियन्त्रित लागुऔषध बरामद गरिएको छ।
आर्थिक अपराध नियन्त्रणका क्रममा हुण्डी कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरिएको छ। उक्त प्रकरणमा १ करोड ६० लाख ८४ हजार १८० रुपैयाँ बिगो मागदाबी गरिएको छ। त्यस्तै, भन्सार छली तथा अवैध सुनचाँदी ओसारपसारमा संलग्न २७ जनालाई पक्राउ गरी २३ केजी ८८८ ग्रामभन्दा बढी सुनजस्तो देखिने पहेँलो धातु बरामद गरिएको छ। जुवातास नियन्त्रण अभियानअन्तर्गत नियमित त्रैमासिक अवधिमा १४ वटा मुद्दा दर्ता गरी ११९ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट ४१ लाख ४३ हजार ५७५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। सार्वजनिक स्थलमा हुने अपराध तथा दुर्व्यवहार नियन्त्रणका लागि सञ्चालन गरिएको 'स्विप अपरेशन' अन्तर्गत २ हजार ७३४ जनालाई नियन्त्रणमा लिएर छानबिन गरिएको थियो। त्यस्तै, महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार रोक्न सञ्चालन गरिएको 'सेफ्टी पिन अपरेशन' मा ६३७ जना पक्राउ परेका छन्। तीमध्ये गम्भीर प्रकृतिका कसुरमा संलग्न ६३ जनाविरुद्ध ४३ वटा मुद्दा दर्ता गरिएको छ भने सामान्य प्रकृतिका घटनामा संलग्न ५७४ जनालाई सचेत गराएर आफन्तको जिम्मा लगाइएको छ। सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ हजार ९३८ जना र लागुऔषध सेवन गरी सवारी चलाउने ७८ जना चालकलाई कारबाही गरिएको छ। यसैगरी, सवारी साधन चोरी तथा हराएको भन्दै परेका ५२१ उजुरीमध्ये २५७ वटा सवारी साधन फेला पारिएको छ। तीमध्ये २२१ वटा सम्बन्धित धनीलाई फिर्ता गरिएको छ भने चोरीमा संलग्न ३४ जनालाई पक्राउ गरिएको छ।
चाडपर्व लक्षित सुरक्षा अभियानमा ८ हजारभन्दा बढी प्रहरी परिचालन
नियमित सुरक्षा व्यवस्थासँगै चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले असोज १८ देखि कात्तिक १८ गतेसम्म एकमहिने विशेष सुरक्षा योजना लागू गरेको थियो।उक्त योजनाअन्तर्गत काठमाडौं उपत्यकामा विभिन्न दर्जाका ८ हजार ६६८ जना प्रहरी परिचालन गरिएको थियो। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन कमान्ड पोस्ट स्थापना, पैदल तथा सवारी गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, ३७ वटा यात्रु तथा नागरिक सहायता डेस्क स्थापना र उपत्यकाका २२ वटा नाकामा चौबिसै घण्टा चेकिङको व्यवस्था गरिएको थियो। संवेदनशील क्षेत्रमा कुकुर परिचालन, सीसीटीभी तथा ड्रोनमार्फत निगरानीसमेत गरिएको प्रहरीले जनाएको छ।
विशेष सुरक्षा योजनाका क्रममा जुवातास खेल्ने तथा खेलाउनेविरुद्ध १२ वटा मुद्दा दर्ता गरी ९१ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट २८ लाख ७९ हजार ७७५ रुपैयाँ नगद र ४९ बुक तास बरामद गरिएको छ।त्यस्तै, अवैध पटाका आयात तथा बिक्री वितरणमा संलग्न १२ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट विभिन्न प्रकारका ३४ हजार ३५७ थान पटाका, १३ हजार ८४९ प्याकेट सिल्भर टर्चर तथा पड्किने पटाका बरामद गरिएको छ। साथै, तीन बोरामा रहेका बेवारिसे पटाकासमेत प्रहरीले जफत गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले नियमित त्रैमासिक सुरक्षा कारबाही र चाडपर्व लक्षित विशेष योजनाबाट उपत्यकाको शान्ति सुरक्षा कायम राख्न तथा आपराधिक गतिविधि नियन्त्रण गर्न महत्त्वपूर्ण योगदान पुगेको जनाएको छ। प्रहरीले दीपावली तथा छठ पर्व मनाउने क्रममा जुवातास खेल्ने वा खेलाउने तथा पटाका र विस्फोटक पदार्थ पड्काउने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। त्यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गर्दै प्रहरीले सबैलाई ढुक्कसँग चाडपर्व मनाउन र दीपावली तथा छठ पर्वको शुभकामनासमेत व्यक्त गरेको छ।