काठमाडौं । भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि, लत्ताकपडा तथा पशुचौपाया प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२५ खाल्वाबाट भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका विभिन्न प्रकारका औषधि बरामद गरिएको हो। बरामद औषधिको मूल्य २ लाख ३१ हजार ६०४ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट पनि भन्सार छली गरी ल्याइएका विभिन्न सामग्री नियन्त्रणमा लिइएको छ। उक्त स्थानबाट ५ लाख ५९ हजार ८२० रुपैयाँ मूल्यका लत्ताकपडा, २ लाख ५० हजार रुपैयाँ बराबरको एउटा भैँसी र १० हजार रुपैयाँ मूल्य पर्ने एउटा खसी बरामद गरिएको हो।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार दुवै स्थानबाट बरामद गरिएका सामान तथा पशुचौपायाको कुल मूल्य १० लाख ५१ हजार ४२४ रुपैयाँ रहेको छ। प्रहरीले नियन्त्रणमा लिएका औषधि, लत्ताकपडा र पशुचौपायालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जनाएको छ।