काठमाडौँ । बागमती प्रदेश सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने मोटरसाइकल तथा स्कुटरलाई सार्वजनिक सवारीका रूपमा दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै दर्ता प्रक्रिया सुरु भएको छ।
काठमाडौँको गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हालसम्म एउटा कम्पनीमार्फत पाँचवटा मोटरसाइकल कालो नम्बर प्लेटमा दर्ता भएका छन्। उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशले गत असोज १ गते यातायात व्यवस्था कार्यालय गुर्जुधारालाई आठबुँदे निर्देशन जारी गर्दै दुईपाङ्ग्रे सवारीलाई सार्वजनिक सवारीका रूपमा दर्ता र सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको थियो। यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराका सूचना अधिकारी गोविन्दराज शिवाकोटीका अनुसार दर्ता प्रक्रिया खुलेको लामो समय भए पनि हालसम्म पाँचवटा मोटरसाइकल मात्रै कालो नम्बर प्लेटमा दर्ता भएका छन्। उनका अनुसार सुरुमा सबै सवारीसाधन निजी अर्थात् रातो नम्बर प्लेटमा दर्ता हुनेछन्। त्यसपछि आवश्यक मापदण्ड पूरा गरेका सवारीलाई सम्बन्धित कम्पनीमार्फत प्रक्रिया अघि बढाएर कालो नम्बर प्लेटमा रूपान्तरण गरिनेछ।
व्यक्तिगत रूपमा सवारीधनीले कार्यालयमा पुगेर आफ्नो मोटरसाइकललाई सीधै कालो नम्बर प्लेटमा परिवर्तन गर्न पाउने छैनन्। यसका लागि सम्बन्धित राइड सेयरिङ कम्पनीमार्फत नै प्रक्रिया अघि बढाउनुपर्नेछ। साथै, मोटरसाइकलको उमेरसम्बन्धी मापदण्ड पनि पूरा भएको हुनुपर्नेछ। तोकिएको मापदण्डभन्दा पुराना सवारीसाधनलाई सार्वजनिक सवारीका रूपमा दर्ता गर्न नपाइने कार्यालयले जनाएको छ। मन्त्रालयको निर्देशनअनुसार सार्वजनिक सवारीका रूपमा दर्ता हुने मोटरसाइकल तथा स्कुटरले कालो नम्बर प्लेट पाउनेछन्।
यस्ता सवारीलाई सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची ६ (खण्ड ग) अनुसार मिटर जडित ट्याक्सीसरह रुट परमिटसमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ। त्यस्तै, सवारीको प्रदूषण परीक्षण, जाँचपास र पञ्जीकरणका लागि प्रचलित कानुनी व्यवस्था तथा तोकिएको दस्तुर लागू हुनेछ। मन्त्रालयले निर्धारण गरेअनुसार यात्रु भाडादर कायम गर्नुपर्नेछ भने यात्रुको सुरक्षाका लागि अनिवार्य बिमा पनि गर्नुपर्ने व्यवस्था गरिएको छ। यस व्यवस्थाले राइड सेयरिङमा प्रयोग हुने दुईपाङ्ग्रे सवारीलाई औपचारिक रूपमा सार्वजनिक यातायात प्रणालीमा समेट्ने बाटो खोलेको छ।