काठमाडौँ । सुनसरीको धरानमा ठूलो परिमाणमा गाँजा ओसारपसार गर्ने तयारी भइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
धरान उपमहानगरपालिका–२० च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा गाडी लिएर भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।
त्यसैगरी, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे पनि पक्राउ परेका छन्। यादव बा.१ च ५०३८ नम्बरको स्कार्पियोका चालक हुन् भने शाह को.१ च ८१८२ नम्बरको अर्को स्कार्पियोका चालक रहेको प्रहरीले जनाएको छ। प्रहरीले सोमबार बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा च्यानडाँडामा निगरानी तथा खोजी गरेको थियो। सोही क्रममा उक्त दुईवटा स्कार्पियोमा गाँजा लोड भइरहेको अवस्थामा फेला परेको थियो। प्रहरीले दुवै गाडीबाट आठ पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको छ। पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।