काठमाडाैँ । पोखरामा पायल्स रोगको उपचार गराउन आयुर्वेद क्लिनिक पुगेकी एक युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा क्लिनिक सञ्चालक पक्राउ परेका छन्।
पोखरा महानगरपालिका–२, बागलुङ बसपार्कमा निदान आयुर्वेद क्लिनिक सञ्चालन गर्दै आएका ३८ वर्षीय प्रफुल्ल यादवलाई कास्की प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो। रौतहट स्थायी घर भएका यादवलाई बिहीबार अपराह्न नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले पुष्टि गरेका छन्। प्राप्त विवरणअनुसार, ती युवती पायल्सको उपचारका लागि क्लिनिक पुगेकी थिइन्। उपचारका क्रममा रोग निको पार्ने बहानामा सञ्चालक यादवले आफूलाई झुक्याएर शरीरका संवेदनशील अंग तथा छातीमा अनुचित रूपमा छोएको पीडित पक्षको आरोप छ।
यस घटनाबारे दशैँअघि नै प्रहरीमा उजुरी परेको थियो। उजुरी परेको करिब एक सातापछि प्रहरीले यादवलाई पक्राउ गरेको समाचारमा उल्लेख छ। कास्की प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीका अनुसार घटनास्थलको मुचुल्का तयार पार्ने तथा पीडितसँग थप जानकारी लिने काम भइरहेको छ। पीडितको किटानी जाहेरी भने पर्न बाँकी रहेको बताइएको छ। घटनाको अनुसन्धानपछि प्राप्त प्रमाण र जाहेरीका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।