काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ।
कार्कीले बिहीबार आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। तर, अध्ययनको क्रममा रहेको भन्दै सोही दिन दर्ता हुन सकेको थिएन। शुक्रबार भने सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गरेको हो। सर्वोच्च अदालतमा रिट दर्ता भएपछि सामान्यतया त्यसको भोलिपल्ट सुनुवाइका लागि पेसी तोक्ने प्रचलन छ। सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। यद्यपि, उनले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझिसकेका छैनन्। आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कार्कीले न्यायिक उपचार खोजेका हुन्। अब सर्वोच्च अदालतको सुनुवाइ र आदेशले यस प्रकरणको आगामी दिशा तय गर्नेछ।