काठमाडौं ।हरितालिका तीजका दिन काठमाडौं प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै ७७ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विगतमा तीजका बेला भएका घटनाको विश्लेषणका आधारमा चोरी, लुटपाट, महिला दुर्व्यवहारलगायत अवाञ्छित गतिविधिमा संलग्न हुन सक्ने आशंका गरिएका व्यक्तिमाथि निगरानी बढाइएको थियो। सोही क्रममा उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा ठूलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो। प्रहरीका अनुसार करिब ४५ हजार श्रद्धालु मन्दिरमा दर्शन तथा पूजाआराधनाका लागि पुगेका थिए।दिनभरको सुरक्षा अवस्थाबारे प्रहरीले तीज पर्वका क्रममा कुनै अप्रिय घटना नभएको जनाएको छ। काठमाडौंमा तीजको मुख्य कार्यक्रम तथा भीडभाड हुने क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको प्रहरीको भनाइ छ।