काठमाडौं । मिथिला संस्कृतिसँग जोडिएको चौठचन्द्र अर्थात् चौरचन पर्व आज तराई–मधेसका विभिन्न जिल्लामा धार्मिक विधिअनुसार मनाइँदैछ ।
यसपटक हरितालिका तीज र चौठचन्द्र पर्व एउटै दिन परेकाले मधेसका महिलाले दुवै पर्व सँगसँगै मनाइरहेका छन् ।भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वमा व्रतालु महिलाले दिनभर अन्न तथा पानीसमेत नखाई उपवास बस्ने चलन छ । साँझ चन्द्रमा देखिएपछि विशेष पूजा गर्दै चन्द्रमा र गणेशलाई विभिन्न परिकार तथा फलफूलसहित अर्घ्य दिने परम्परा रहेको छ ।चौठचन्द्रका लागि घरमै दही, खिर, पुरी, ठेकुवा लगायतका परिकार तयार पारिन्छन् । पूजापछि चन्द्रमालाई अर्घ्य दिइने र पूजा सामग्रीका रूपमा चढाइएका प्रसाद परिवार तथा आफन्तबीच बाँडेर खाने चलन छ ।
चन्द्रमाको आराधना गरेमा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुनुका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास मिथिला क्षेत्रमा रहेको छ । त्यसैले यस पर्वलाई पारिवारिक सुख र कल्याणसँग जोडेर विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।चौठचन्द्र पर्वको उत्पत्तिसँग सम्बन्धित विभिन्न धार्मिक कथन पनि प्रचलित छन् । तीमध्ये ज्योतिष राजा हेमाङ्गद ठाकुरसँग जोडिएको किंवदन्तीलाई यस पर्वको सुरुवातसम्बन्धी प्रमुख धार्मिक मान्यतामध्ये एक मानिन्छ ।