काठमाडौं ।हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनका लागि विशेष दर्शनको व्यवस्था गरिने भएको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार तीजको दिन भदौ २९ गते सोमबार बिहान ३ बजेदेखि मन्दिरका चारैवटा ढोका खोलिनेछन्।तीजका दिन पशुपतिनाथमा दर्शन गर्न ठूलो संख्यामा भक्तजन आउने भएकाले भीड व्यवस्थापनलाई सहज बनाउन विशेष तयारी गरिएको कोषले जनाएको छ। मन्दिरबाहिर पाँचवटा र परिसरभित्र प्रवेश गरेपछि आठवटा छुट्टाछुट्टै लाइनबाट भक्तजनलाई दर्शन गराउने व्यवस्था मिलाइनेछ।
भक्तजनको सुरक्षा तथा दर्शन मार्ग व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी परिचालन गरिने भएको छ। महिला भक्तजनको उपस्थिति बढी हुने भएकाले सुरक्षाका लागि महिला प्रहरीको संख्या पनि बढाइने कोषले जनाएको छ।तीजका दिन उपत्यकामा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले पशुपति क्षेत्रमा छुट्टाछुट्टै पार्किङस्थल तोकिएको छ। विशिष्ट व्यक्तिका सवारीसाधन पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा राख्ने व्यवस्था गरिएको छ।
अन्य भक्तजनका सवारीसाधनका लागि भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा र उमाकुण्ड क्षेत्रमा पार्किङको व्यवस्था गरिएको कोषकी सदस्य संगिता कुमारी रामले जानकारी दिइन्।यसैबीच, पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनलाई सुरक्षालाई ध्यानमा राख्दै महँगा गरगहना नलगाउन कोषले अनुरोध गरेको छ। भीडभाडका कारण बालबालिका हराउन सक्ने सम्भावना भएकाले साना बालबालिकालाई साथमा नल्याउनसमेत आग्रह गरिएको छ।तीजका दिन हुने भीडलाई व्यवस्थित गर्दै भक्तजनलाई सहज र सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले आवश्यक सबै तयारी पूरा गरिएको कोषले जनाएको छ।