काठमाडौं । घरमा चुलो बाल्नै समस्या हुन थालेपछि विद्यार्थी सङ्गठनहरू सडकमा उत्रिएका छन्।
खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि उनीहरूले शुक्रबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनमा विद्यार्थीहरूले खाली ग्यास सिलिन्डर र थाल बोकेर निगमविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ग्यासको मूल्य बढाए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन माग गरेका छन्।प्रदर्शनकारीहरूले “घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन” भन्दै सरकार र आयल निगमको ध्यानाकर्षण गराएका थिए।यता, आयल निगमले भने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि ग्यास ढुवानी प्रभावित भएको बताउँदै आएको छ। सडक अवरुद्ध भएपछि तराईका उद्योगबाट सिलिन्डर भरेर वैकल्पिक बाटो हुँदै काठमाडौं उपत्यकामा ग्यास ल्याउने व्यवस्था गरिएको निगमको भनाइ छ।तर निगमले वैकल्पिक आपूर्तिको दाबी गरिरहे पनि बजारमा भने ग्यासको अभाव कायमै रहेको उपभोक्ताको गुनासो छ।