काठमाडौं । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको वितरण असहज बनेको छ।
उपभोक्ताले ग्यास पाउन कठिनाइ भोग्न थालेपछि सरकारले तत्काल राहत दिने उद्देश्यले नयाँ व्यवस्था अघि सारेको छ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।अब उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डको ग्यास सिलिन्डर उपलब्ध नभएमा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास लिन सक्नेछन्। यो व्यवस्था तत्कालका लागि काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ।बाढीका कारण उत्पन्न आपूर्ति अवरोधलाई तत्काल व्यवस्थापन गर्दै उपभोक्तालाई ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको मन्त्रीको सचिवालयले जनाएको छ।सरकारको यो निर्णयले बजारमा कुनै एउटा कम्पनीको सिलिन्डर अभाव हुँदा पनि उपभोक्ताले अर्को कम्पनीको सिलिन्डर प्रयोग गरेर खाना पकाउने ग्यास पाउने बाटो खुल्ने अपेक्षा गरिएको छ।