काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटमा पर्यटन विकाससम्बन्धी निर्माण योजनामा अनियमितता भएको आरोपमा तीन सरकारी कर्मचारीसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०८१र८२ मा पर्यटन विकास कार्यालय गौरमार्फत परोहा नगरपालिका–९ स्थित रामपुर पोखरी क्षेत्रमा शिवनाथ भवन, भैरवनाथ मन्दिर तथा राधाकृष्ण मन्दिरका अधुरा संरचना निर्माणका लागि बजेट विनियोजन गरिएको थियो।अनुसन्धानका क्रममा वास्तविक रूपमा भएको निर्माणभन्दा बढी काम सम्पन्न भएको देखाएर नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार गरिएको तथा सोही आधारमा बढी रकम भुक्तानी गरिएको अख्तियारको दाबी छ। स्थलगत प्राविधिक परीक्षणबाट ६ लाख ८० हजार ५ सय ९२ रुपैयाँ ४३ पैसा बढी भुक्तानी भएको निष्कर्ष निकालिएको आयोगले जनाएको छ।मुद्दा दायर गरिएकामध्ये तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदीप प्रकाश तिमल्सेना, इन्जिनियर नितेश कुमार पटेल, उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र साह तेली तथा कोषाध्यक्ष कुन्ती देवी रहेका छन्।अख्तियारले उनीहरूबीच मिलेमतो गरी सरकारी रकम हिनामिना भएको आरोप लगाउँदै पाँचै जनाबाट ६ लाख ८० हजार ५ सय ९२ रुपैयाँ ४३ पैसा बिगो असुल गर्न तथा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको मागदाबी गरेको जनाएको छ।