काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा लगातारको वर्षाका कारण विभिन्न सडकमार्ग प्रभावित भएपछि प्रहरीले हेटौंडा–काठमाडौं आवागमनका लागि वैकल्पिक रूट व्यवस्था गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आजदेखि १० चक्कासम्मका मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रवेश गर्ने व्यवस्था गरिएको छ। काठमाडौं फर्किने क्रममा भने ती सवारीसाधनले कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।यात्रु तथा चालकको सुरक्षालाई ध्यानमा राख्दै कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुबाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिंगन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।१४ सिटभन्दा कम क्षमताका साना यात्रुबाहक सवारीसाधनका लागि पनि छुट्टै रूट तोकिएको छ। काठमाडौं–हेटौंडा आउँदा फर्पिङ, फाखेल र कुलेखानी हुँदै भीमफेदी पुग्ने तथा हेटौंडाबाट काठमाडौं जाँदा भीमफेदी, कुलेखानी, सिस्नेरी र दक्षिणकाली हुँदै जाने व्यवस्था गरिएको छ।मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता सीमित रहेकाले इन्धन बोक्ने तथा भारी मालबाहक सवारीसाधनलाई उक्त पुल प्रयोग नगर्न भनिएको छ। त्यस्ता सवारीसाधनलाई पुलसँगै निर्माण गरिएको डाइभर्सनबाट आवतजावत गराउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
विपद्को अवस्था रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ। राजमार्गमा सवारी चलाउँदा आफ्नो पालो कुर्न, अनावश्यक ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीको निर्देशन पालना गर्न पनि चालकहरूलाई अनुरोध गरिएको छ।यसैबीच, भोटेकोशीमा आएको बाढी र निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा सडक कटान हुँदा राजमार्गहरू अवरुद्ध भएका छन्।पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडकको भाग भासिएको छ। उक्त स्थानमा सडक पूर्ण रूपमा क्षतिग्रस्त हुँदा मानिसको आवतजावतसमेत प्रभावित भएको प्रहरीले जनाएको छ।त्यस्तै, धादिङकै गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि यातायात सञ्चालन अवरुद्ध भएको छ।सडक अवरुद्ध भएका स्थानमा जोखिम कायमै रहेकाले यात्रुले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ।