काठमाडाैँ । धनुषामा छठ पर्वका लागि घाट निर्माण गरेर रेखदेख गर्न पोखरी पुगेका एक ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा धनुषाको सहिदनगर नगरपालिका–२, मतौनाका स्थानीय रामजतन यादव रहेका छन्। उनी आइतबार राति स्थानीय धनी पोखरीमा छठघाट निर्माण गरी त्यसको रेखदेखका लागि एक्लै बसेका थिए। तर, सोमबार बिहान करिब ६ बजे उनी पोखरीमा मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक यादवको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटेको जस्तो गम्भीर चोट देखिएको छ। घटनास्थल नजिकै पोखरीको पानीमा पराल काट्न प्रयोग हुने दाउसमेत फेला परेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट डीएसपी ओमप्रकाश खनालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अवस्था हेर्दा यादवको हत्या भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ। यद्यपि, उनको मृत्युको वास्तविक कारण र घटनामा संलग्न व्यक्तिको पहिचान भने खुल्न बाँकी छ। स्थानीयवासीले यादवलाई ‘म्यानेजर’ नामले समेत चिन्ने गरेको प्रहरीले जनाएको छ।