काठमाडौं । नेपाल–चीन सीमा आसपास आएको भीषण बाढी र पहिरोका कारण कैलाश मानसरोवर यात्राबाट फर्किरहेका केही तीर्थयात्रीसमेत सम्पर्कविहीन भएको बताइएको छ।
नेपाल तथा तिब्बत क्षेत्रमा विपद्का कारण ठूलो संख्यामा मानिस बेपत्ता भएपछि यस वर्षको कैलाश क्षेत्रको तीर्थयात्रा प्रभावित बनेको हो।दक्षिण–पश्चिमी तिब्बतमा चीन, नेपाल र भारतको सीमाक्षेत्र नजिक पर्ने कैलाश पर्वत धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। समुद्री सतहबाट ६ हजार ४ सय मिटरभन्दा बढी उचाइमा रहेको कैलाशलाई हिन्दू, बौद्ध, जैन र तिब्बती बोन धर्मावलम्बीहरूले पवित्र स्थलका रूपमा श्रद्धा गर्ने गर्छन्। हिन्दू मान्यताअनुसार यो भगवान् शिव र देवी पार्वतीसँग सम्बन्धित पवित्र भूमि हो।कैलाश जाने तीर्थयात्रीले सामान्यतया पर्वत आरोहण गर्दैनन्। उनीहरूले करिब ५३ किलोमिटर दूरीको परिक्रमा गर्ने परम्परा छ, जसलाई पूरा गर्न झन्डै तीन दिन लाग्ने गर्छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीले घडीको दिशामा र बोन धर्म मान्नेहरूले उल्टो दिशामा परिक्रमा गर्ने धार्मिक प्रचलन छ।
तीर्थयात्राका क्रममा मानसरोवर तालमा धार्मिक गतिविधि गर्ने तथा बाटोमा पर्ने मठ र पवित्र स्थलमा पूजा–प्रार्थना गर्ने गरिन्छ। भारत सरकारले सामान्यतया जुनदेखि अगस्ट वा सेप्टेम्बरसम्म उत्तराखण्ड र सिक्किम हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्दै आएको छ। नेपालबाट पनि निजी क्षेत्रका विभिन्न आयोजकले कैलाश यात्रा सञ्चालन गर्ने गरेका छन्।यसपटकको बाढी तथा पहिरोमा भारतका कम्तीमा १ सय ७८ जना मानिस सम्पर्कविहीन रहेको बताइएको छ। तीमध्ये अधिकांश कैलाश मानसरोवर यात्रामा सहभागी भएको आशंका गरिएको छ। बेपत्तामध्ये अमेरिका, अस्ट्रेलिया, बेलायत र क्यानाडाका नागरिकसमेत रहेको बताइएको छ।आध्यात्मिक गुरु जग्गी वासुदेव सद्गुरु ले सामाजिक सञ्जालमार्फत आफ्नो ईशा फाउन्डेसनको समूहमा रहेका ७७ जना तीर्थयात्री बाढीको समयमा तिब्बतको ग्यिरोङस्थित अध्यागमन केन्द्रमा रहेको जानकारी दिएका छन्। उनका अनुसार उक्त समूह कैलाश क्षेत्रबाट फर्किने क्रममा थियो।