काठमाडौं । नेपाल–चीन सीमासँग जोडिएको तिब्बती क्षेत्रमा पहिरोका कारण बनेको कृत्रिम ताल पानीले भरिएपछि बाहिरबाट पानी बग्न थालेको छ। जिरोङ (केरुङ) नाकाभन्दा माथिल्लो भूभागमा बनेको उक्त तालबाट पानी ओभरफ्लो हुन थालेपछि तल्लो क्षेत्रमा बाढीको जोखिम बढेको हो।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले तालको पानी बाँधमाथिबाट बग्न थालेको जनाएको छ। यससँगै तिब्बतसँगै नेपालतर्फ पनि अचानक बाढी आउन सक्ने जोखिम रहेको बताइएको छ।गत बुधबार आएको ठूलो पहिरोले नदीको बहाव रोकेपछि ताल बनेको थियो। तालको अवस्था अस्थिर देखिएपछि थप जोखिमबाट बच्न चिनियाँ पक्षले यसअघि नै खोज तथा उद्धार गतिविधि रोकेको थियो।अहिले पानीको सतह बाँधको माथिल्लो भागसम्म पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दामा त्रास बढेको छ। ताल फुटेमा वा पानीको बहाव एक्कासि बढेमा रसुवागढी तथा आसपासका नेपाली बस्ती र संरचनामा समेत गम्भीर असर पर्न सक्ने आशंका गरिएको छ।जोखिमलाई ध्यानमा राख्दै रसुवा क्षेत्रमा सुरक्षा निकायलाई थप सक्रिय बनाइएको छ। रसुवामा परिचालित नेपाल प्रहरीका एसएसपी दीप शमशेर जबराले तालबाट पानी बाहिरिन थालेको जानकारी आएको बताउँदै नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको जानकारी दिएका छन्।सम्भावित बाढीको अवस्थालाई निरन्तर निगरानीमा राख्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।