काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ भने जोखिम भएका स्थानमा रातिको समयमा यातायात सञ्चालनमा समेत प्रतिबन्ध लगाइएको छ।कोशी प्रदेशअन्तर्गत मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित राजदुवालीमा वर्षाका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा भने वैकल्पिक मार्गबाट आवागमनको व्यवस्था मिलाइएको छ।बागमती प्रदेशमा बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै विभिन्न सडकखण्डमा निश्चित समयका लागि सवारी सञ्चालन रोकिएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्रै सवारी सञ्चालन गर्न दिइने गरिएको छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैजुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्ड तत्काल खुलाउन केही समय लाग्ने देखिएको प्रहरीले जनाएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा समेत जोखिमलाई मध्यनजर गर्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगाड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा ठप्प भएको छ। देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले थप सडकखण्डमा समेत अवरोध हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ। त्यसैले लामो दूरीको यात्रामा निस्कनुअघि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरिएको छ।