काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित नापी कार्यालयमा कार्यरत सर्भेक्षक बिन्देश्वर साह सुडीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सरकारी सेवामा रहँदा आफ्नो पदको दुरुपयोग गरी आयस्रोतभन्दा बढी सम्पत्ति जोडेको आरोप आयोगले सुडीमाथि लगाएको हो।अख्तियारको अनुसन्धानअनुसार सुडीले २०४६ वैशाख १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म सरकारी सेवामा रहँदा कुल ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा बराबरको वैध आय आर्जन गरेका थिए।तर, उक्त अवधिमा उनको नाममा भएको खर्च, सम्पत्ति खरिद तथा विभिन्न क्षेत्रमा गरिएको लगानीको कुल रकम ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा पुगेको आयोगले जनाएको छ।आय र खर्च तथा लगानीबीच तुलना गर्दा ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बराबरको रकमको स्रोत पुष्टि हुन नसकेको अख्तियारको दाबी छ।स्रोत नखुलेको रकमलाई गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति ठहर गर्दै आयोगले सोही रकमलाई बिगो कायम गरेको छ। बिगो बराबर जरिवाना, कैद तथा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।अनुसन्धानका क्रममा सुडीले आफ्नो नाममा मात्र नभई श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत स्रोत नखुलेको सम्पत्ति राखेको भेटिएको आयोगको भनाइ छ। उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुमिन्त्रा देवी साहलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।