काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका विषयमा शुक्रबार आयोजित छलफल कार्यक्रम विवादित बनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनबीच बैठकमै भनाभन भएपछि तामाङ कार्यक्रमबाट बाहिरिएकी छन्।सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाको अध्यक्षतामा भएको छलफलमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयको असन्तुष्टि तथा फोहोर व्यवस्थापन सुधारका लागि भइरहेका प्रयासबारे छलफल गर्ने कार्यसूची थियो।छलफलका क्रममा मेयर महर्जनले महानगरपालिकाले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको दाबी गर्दै काम गर्ने क्रममा आफूहरूमाथि विभिन्न आरोप र मुद्दा लगाउने गरिएको गुनासो गरेका थिए। उनले जनप्रतिनिधिले विषयको वास्तविकता नबुझी दबाब दिने गरेको भन्दै तथ्य बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरे।
महर्जनको भनाइपछि सांसद तामाङले आपत्ति जनाएपछि दुई जनाबीच विवाद सुरु भएको थियो। केही समय भनाभन भएपछि बैठकको वातावरण तनावपूर्ण बनेको थियो।विवाद बढ्दै गएपछि बैठकको अध्यक्षता गरिरहेका सञ्चारमन्त्री तिमिल्सिनाले दुवै पक्षलाई संयमित हुन आग्रह गर्दै स्थिति सामान्य बनाउने प्रयास गरेका थिए। तर, वातावरण सहज बन्न नसकेपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी हुन्।बञ्चरेडाँडा क्षेत्रमा फोहोर व्यवस्थापनसँग सम्बन्धित समस्या, स्थानीयवासीका माग तथा उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न बोलाइएको बैठक विवादका कारण अपेक्षाअनुसार अघि बढ्न सकेन।