काठमाडौं ।सर्वोच्च अदालतका न्यायाधीशहरू सोमबार बिहानदेखि फूलकोर्ट बैठकमा व्यस्त भएका छन् ।
पेसी सूची प्रकाशित भइसके पनि न्यायाधीशहरू इजलासमा नगई सामूहिक छलफलमा जुटेका हुन् । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालबीच भएका ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न फूलकोर्ट बोलाइएको हो ।सर्वोच्च अदालत प्रशासनका अनुसार बैठक कम्तीमा खाजा खाने समयसम्म चल्ने सम्भावना छ । त्यसपछि मात्रै न्यायाधीशहरू नियमित सुनुवाइका लागि इजलासमा जानेछन् ।
प्रधानन्यायाधीश र न्यायाधीशबीचका सन्देश सार्वजनिक भएपछि न्यायालयभित्रको विषय राजनीतिक वृत्तमा समेत प्रवेश गरेको छ । यसैबीच, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउने विषयमा छलफल गरेको थियो । उक्त विषयमा आवश्यक निर्णय गर्ने जिम्मेवारी पार्टीले संसदीय दललाई दिएको छ ।