काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत् तथा सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेशको तीनदिने भ्रमणमा निस्किँदै छन्।
मन्त्री श्रेष्ठ नेतृत्वको टोली शुक्रबार दिउँसो १ बजे कोशी प्रदेशको राजधानी विराटनगर प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा कोशी प्रदेशमा देखिएका विद्युत् आपूर्ति, प्रसारण लाइन तथा अन्य विद्युत् पूर्वाधारका समस्याबारे स्थलगत जानकारी लिइनेछ।त्यसैगरी सिँचाइको पहुँच, नहर तथा अन्य सिँचाइ पूर्वाधारको अवस्थासमेत निरीक्षण गरी आवश्यक सुधारका लागि रणनीति बनाइने मन्त्रालयले जनाएको छ।मन्त्रीको तीनदिने भ्रमणका क्रममा इनरुवास्थित ४ सय केभी भोक्राहा सबस्टेसन, केरौना सबस्टेसन लगायत विद्युत् पूर्वाधारको निरीक्षण गर्ने कार्यक्रम छ।त्यस्तै बराहक्षेत्र–चतहरा नहरको स्थलगत अवलोकन तथा नेपालको पुरानो सिँचाइ प्रणालीको विरासत बोकेको चन्द्र नहरको समेत निरीक्षण गरिनेछ।भ्रमणका क्रममा सम्बन्धित आयोजना तथा पूर्वाधारको वर्तमान अवस्था, समस्या, निर्माण तथा सञ्चालनमा देखिएका चुनौती र सुधारका सम्भावनाबारे सम्बन्धित अधिकारीसँग छलफल गरिने बताइएको छ।
मन्त्री श्रेष्ठसँगको टोलीमा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव मोहनकुमार शाक्य, मन्त्रीका निजी सचिव सुदर्शन श्रेष्ठ, सचिवालय सदस्य देवेश बेल्बासेलगायत सहभागी हुनेछन्।त्यसैगरी जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा। महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट तथा नेपाल विद्युत् प्राधिकरणका कामु निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितका अधिकारीसमेत भ्रमण टोलीमा रहनेछन्।मन्त्री श्रेष्ठले यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश पुगेर त्यहाँका ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी समस्या स्थलगत रूपमा बुझेका थिए। कोशी भ्रमणलाई पनि पूर्वी क्षेत्रमा रहेका पूर्वाधारका समस्या पहिचान गरी समाधानको कार्ययोजना बनाउने उद्देश्यसँग जोडिएको मन्त्रालयले जनाएको छ।